कहिले खडेरी पऱ्यो - पानी परेन महिनौ सम्म
फुटे पटपटी खेत र गराहरू
चर्किए गरा भन्दा वेसी हाम्रा मुटुहरू
हामीहरू चुपचाप टोलायौं मात्रै केही बोलेनौं
कहिले कुलो भएन
एक शब्द गुनासो गरेनौ कसै संग
आफ्नै इलमले बनायौ खाडलहरू
जम्मा गऱ्यौं पानी संगै हाम्रा भविष्यहरू
पसिना न रोपेका हौं गराहरूमा
रहरहरू न लहलहाएका हुन् खेतहरूमा
सपना न फक्रिएका हुन् बोटहरूमा
आखिर हामीले के नै फलाएका थियौं र ?
चर्को घाम सहेर घण्टौ लाईन बस्यौं
बिउ विजन पुगेन भन्यो सरकाले
चुपचाप रित्तै हात घर फर्कियौं
कहिल्यै चर्को बोलेनौ - धिक्काऱ्यौं आफ्नै भाग्य
कहिले डडुवाले सतायो त कैले गवारो लायो
सहयोग मिल्छ कि भनेर आसा राख्यौं
मल र किटनाशक औषधिको अभाव छ भनियो
त्यसमा पनि केही बोलेनौं
कैले काहीं यस्तै हुन्छ भन्यौ चित्त बुझायौं
छानोले घाम छेक्ने रहर हो
भित्ताले हुरी रोक्ने सपना हो
घर त हामी किसानको खेतै त हो हजुर
अभावको आगोमा जलिरहदा
अलिकती चिसो शीत मात्रै खोजेका हौं
कुनै महलको सपनाले थिचेर हैन
कुनै विलासी गाडीको रहरले किचेर हैन
हामी त केवल
दुई छाक पेट भरून्जेल भात खान चाहन्छौं
केटाकेटीहरुलाई नांगै भए
पनि दुई अक्षर सिकाउन स्कुल पठाउन चाहन्छौं ।
आखिर हाम्रो गल्ती के थियो ?
कि हामीले उमारेको उखुको चिनी नुनिलो थियो ?
कि उखुको जुसमा विस मिसियो ?
कि हाम्रा गराहरूमा जहर मात्रै फलिरहेछ ?
ए सरकार !
आज तिम्रो दैलोमा आएर
हामीले ठूलो कुरा के नै मागेका छौं र आखिर ?
हामी गरिबको पसिना र रगत मिसिएको
नाथे उखुको मूल्य न हो ।

Post a Comment