- शेखर विकल्प
भीमसेनको आशौच बारेर
कोरो ओढेर बसेको छ धरहरा !
कसैले च्यात्न नसकेका
समयका सन्धि
जोगाउँदैछ नारायणहिटी !
मीठा सपना बाँडेर छिर्न हतार
राता पार्सपोट थुन्न आतुर छ
सम्मेलन केन्द्र !
युवा बेचेर डलर छाप्न
आतुर छन् विभागीय सरकारी अड्डाहरू !
दिनहुँ जंगे पिल्लर सरेको सऱ्यै छ,
टुलुटुलु हेर्नु बाहेक
के गरोस् शीतलनिवास !
कमलपित्ते जीवन बोकेर
यौवनको मोलमोलाई
र दलाली गर्दैछ रत्नपार्क !
पितृदेवो भव र मातृदेवो भवको
प्रवचन सुनाउँछ
अपहेलित पूर्वजवान जम्मा गरेर पशुपति !
पश्चिमको निर्दोष साइँलाको हत्या
र पूर्वकी चेलीलाई
नदी पारिकाबाट भएको बलात्कारको
दृश्य प्रत्यक्ष प्रसारण गर्दैछ सिंहदरबार !
चेली ब्यापारीलाई कौडीको धरौटीमा
रिहाईको फैसला गर्दैछ
सर्वोच्च अदालत !
सडकमा जाम खन्याएर
वायुमा वाहनका धूँवाको सिरक ओढाउँदै
समयको उल्टो गतीमा बगेका मनुवालाई
रोक्न खोज्दैछ घन ठोकेर घण्टाघर !
वीरताको गाथा र इतिहासमा
ढल मिसाएर बग्दैछ वागमती !
छिमेकीहरू
बुध्द र सगरमाथा छापेर जुतामा,
बजार्छन् दरबारका आँगनमा,
साम्राज्यको पदचाप सुन्नु बाहेक
के गरोस् बालुवाटार ?
यसै बीच
घुमिरहेछन् अक्टोपसका हातहरू
आयातित चस्मा भिरेर
आफ्नै भ्रूण खोज्दै काठमाण्डुमा ।

Post a Comment