परिचय
- विकल्प
सायद तिमीले त विर्स्यौ होला मेरो परिचय
हुन त बीच बाटोमा छुट्नेहरूको कहाँ लेखिन्छ र परिचय
पिँधमा परेकाहरूको कहाँ भेटिन्छ र अस्तित्व
म त्यही धोद्रिएको आवाज हुँ
जो हिजो तिमी वुर्जवा सत्ताको विरूद्ध
चर्का नारा लाउदा लाउदै स्वर फाटेको थियो
म त्यही आन्दोलनमा उद्रिएको स्वीटर हुँ
जसलाई तिमीले गन्तव्यको गाँठो नपारी छाडेर
फुस्किईरहेछ धागो पटक - पटक
म त्यही वेसुरा बाँसुरी हुँ
जसलाई तिमीले करङमा प्वाल पारेर
मुटु कलेजा थिच्दै गर्धनमा फुकिरहेछौ
र बजाईरहेछौ शान्तिको विगुल
म त्यही उधारो सपना हुँ
जसलाई युध्दमा मरेका आमाहरू आएर
गानिएका थुनको दुध चुसाउछन्
र दशधाराको मूल्य माग्छन्
म त्यही बाटो हुँ
जसले तिमीलाई फेरि फर्केर आउनेछौ भन्ने आशामा
विकट गाउँ बाट सुगम सहर सम्म पुराएको थियो
म त्यहि एक थोपा नङको मसी हुँ
जसले तिमीलाई मालिक बनाउन
आफ्नै भविष्य वाकसमा खसालेको थिएं
र म हात गोडा भाचिएर
शरिर भरी रगत लतपतिएको लाश हुँ
जसलाई तिमीले लिस्नो बनाएर
पुगेका थियौ सत्ताको सिंहासनमा


Post a Comment