थाकेको गधा जस्तै लखतरान भएर
फर्किदैंछु रातभरी भारी बोकेर
गाह्रो रहेछ चामलका बोरा बोक्न भन्दा
साहुको ब्याज बोक्न
निसा अस्ताएर प्रभात फैलिए पनि
देखिदैनन् आकासमा किरणका पदचापहरू
स्तब्ध र भयावह सन्नाटा छ
झरी परिरहेछ रातैभरी
लम्किरहेछु पारदर्शी छाता ओढेर
जसमा छरप्रष्ट देखिदै विलाउँदै छन्
विभक्त पानीका थोपाहरू
जसरी विलाउँछन् स्वप्नमै जिन्दगीका खुसीहरू
हृदयको तख्ताबाट प्रसारित
मस्तिष्कमा रिले भएर
अविराम झल्याक झुलुक गरिरहेछन्
चलचित्र बनेर सम्झनाका दृश्यहरू
सपनाको चाङमा उभिएर
आकशमा चंगा वेगिए जस्तै
परदेश छिरेको छ म
विस्तारै अशक्त हुदैछु
आफ्नै सपनाको विकिरणले ग्रसित भएर
गाह्रो रहेछ आफ्नै मृत्युको मलामी जान
त्यो भन्दा गाह्रो रहेछ
आफ्नै रहरहरूको सती जान
किमकर्तव्यव्युमूढ भएर उभिएछु यस्तो संघारमा
झुकौं स्वाभिमानी देश सम्झन्छु
नझुकौं बाध्यताले पछारेको अतित देख्छु
पुर्पक्षका लागि थुनामा परेको कैदी जस्तो
समयको आखि झ्यालबाट चियाउँदैछु
कतै दूर क्षितिजमा
चम्किन्छन् कि विजुली र चमेलीका घर्साहरू
रहरका भित्ताहरू पोतेर रंगिन बनाउनु छ
खुसीका आंगनमा डिल लाउनू छ
दुखलाई कुलो काटेर बगाउनुछ
जिन्दगीलाई पारिलो चौतारी बनाउन छ
तर कुहिरो कता कता मडारिईरहन्छ
थाहा छैन हिडेको बाटो कहाँ पुग्छ
थाहा छैन टेकेका पाईलाहरूले कैले सम्म साथ दिन्छन्
तर पनि अविरल , अविराम र अव्रिशान्त
बगिरहेछ बांगोटिंगो भएर कर्नाली जस्तै
सूर न तालमा जिन्दगी
परिस्थितीको चकटीमा पलेटी मारेर
अर्जुनदृ्ष्टी लगाएर हेर्छु बांचेको समयलाई
परदेशमा झरी परिरहन्छ -
कहिले सम्झनाको
कहिले आकासे पानीको
कहिले आंसुको ...
- शेखर विकल्प
बुटवल रूपन्देही
हाल - टोकियो जापान
युटुव लिंक -
Post a Comment