निवेदन
- - शेखर विकल्प
महोदय
यो यौटा निवेदन हो
यसबाट कसैलाई पर्न गएको असुबिधा प्रति
म क्षमा चाहन्छु
म यौटा संघारमा उभिएको छु
एकछिन पछी मलाई भित्र जानु छ
त्यसैले मेरा आवाजहरूले सम्बोधन गर्न चाहन्छु
मेरो गुनासो कस्सैसंग पनि छैन
न सरकार
न तपाईँ
न म आफै स्वयं
खरबारी आमा आफैले बेचेकी हुन् -
छोरो पढाउनु थियो, ठूलो मान्छे बनाउनु थियो
र आफैले भनेकी थिईन् – यस्ता खरबारी ऊ आफैले जोड्नेछ
पहिले ऊ ठूलो मान्छे बनोस्
राजनीतिको "र" सम्म नजानेका मेरा बा
कुनैदिन कसैको प्रलोभनमा परेर - झण्डा बोकेर पुगे सडकमा
आन्दोलनको दौडानमा कन्चटमा गोली लागेर
ढले रगताम्मे भएर - छट्पटाए कैयौं दिन अस्पतालमा
थेग्न सकेन बाको सासलाई बन्धकीमा राखेको घरले
न पाउन सकिन आमाले बाको ब्लड मनी
न बाँकी रह्यो आमाको नदी जस्तो सिउँदो
नभएका होइनन् आमा संग – झुम्का, तिलहरी र मडहरी पनि
तर ती सबै छोराको फुर्मासमा सकिए
आमाले कहिले नाइ भन्न सकिनन्
किनकी उनलाई अहिले पनि विस्वास छ -
छोरो कहिल्यै खराब मान्छे बन्न सक्तैन
छोराले नपढेको पनि थिएन
तर हरेक जागिरको अन्तर्वार्तामा अन्तिममा उसलाई यौटै प्रश्न सोधिन्थ्यो -
अब भन्नुहोस् तपाइको आफ्नो मान्छे को छ ?
यौटा सानो बालकलाई जस्तै
अहिले पनि आमा दिनहुँ जसो छोराको शैक्षिक प्रमाणपत्रहरू मुसार्छिन्
मानौ ती आमाका भविष्य हुन्
र जसले आफूलाई सहारा दिनेछन् भन्ने मिठो भ्रममा छन् उनी अझै
पेट आफ्नै बिरूध्दमा उभिएको छ खोक्रो सारंगी भएर
आफ्नै बिरूध्दमा उर्लिएको छ आँखामा आँसुको भेल
हिंजो मात्रै अस्पतालमा नयाँ रिपोर्ट देखियो -
आमाको पाठेघर खस्ने समस्या छ
बेच्न बाँकी अब
आमाको नाकको बुलाकी मात्रै छ
किनकी - त्यो आमाले कहिल्यै फुकाल्दिनन्
महोदय
मैले माथी नै उल्लेख गरेको छु
यो यौटा निवेदन हो
मलाई थाहा छ - यो सुनेपछी आमा मुर्छा पर्नेछिन्
र कहिल्यै ब्युझनेछैनिन्
किनकी - यो मेरो सुसाइड नोट हो ।
बलेटक्सार -३ गुल्मी
हाल - टोकियो जापान

Post a Comment