पर्दा

 पर्दा 

- शेखर 



 

झ्यालमा हल्लिएको छ 

निलो किनारा भएको रातो पर्दा 

जसबाट भित्रबाहिर ओहोरदोहोर गरीरहेछन्

चन्द्र र सूर्य 


बुइँगलमा बसेर



घरको ढोका थुनेर

राष्ट्रवादको तमाखु तानिरहेछ शासक

घर्र... घर्र ...


निधारमा टाटो छ रगतको

तर उ गर्व गर्दैछ 

वीरताको रक्त चन्दन भनेर


बलेनीमा तप्प तप्प खसीरहेछन् 

घाइतेका रगतका थोपाहरू 


चिम्नीमा उडीरहेछ पुरानो कालो धुँवा

भान्साबाट आईरहेछ 

डढेका गोर्खालीको गन्ध


जुँगामा ताउ लाउंदैछ 

दुईटा चुच्चा मुसासेर 

सगर्व भन्दछ - 

दाहिने चुच्चो सगरमाथा

देब्रे चुच्चो गौतमबुद्ध


कछाड फुस्किएको छ

लगौटी च्यातिएको छ

छिमेकीहरू कुरीकुरी गरीरहेछन् झ्यालबाट


भोक र रोगको शोकमा आजित

आफ्नाहरूले झुकाएकाछन् शिर लाजले


अझै बर्बराउँदैछ 

घरी वर्गीयताको नारा लगाउँछ

घरी पूर्वीय अल्पज्ञानको पुराण फलाक्छ


गर्व छ केवल आफ्नो कुर्सीमा ,

थाहा छैन उसलाई 

बुइँगलमा पुग्ने भऱ्याङ भाच्चिइसक्यो


झ्यालको फाटेको रातो पर्दा छिचोलेर

ह्वांग देखिएको दृश्यले 

लाज पनि लजाएको छ


ए मौन 

आफन्त हो 

कसैले त भनीदेऊ - 

गोर्खालीको गर्वले बोकेको

राष्ट्रवादको गर्भ

सहवासमै

तुहिइसक्यो  !

Post a Comment

Previous Post Next Post